म्यानहट्टनमा दुर्लभ उल्लूको परिवार, हेर्नेको भीड
अमेरिकाको न्युयोर्कस्थित म्यानहट्टनको माथिल्लो वेस्ट साइडमा सेन्ट्रल पार्कनजिकै एउटा भवनको पानी ट्याङ्कीमा दुर्लभ बार्न उल्लूको परिवार बसेपछि स्थानीय बासिन्दा र चराप्रेमी आकर्षित भएका छन् । विज्ञहरूका अनुसार आधुनिक इतिहासमा म्यानहट्टनमा बार्न उल्लूले गुँड बनाएर बच्चा हुर्काएको यो पहिलो अभिलेखित घटना हो ।
कर्नेल विश्वविद्यालयको पक्षीविज्ञान प्रयोगशालाका बसाइँसराइसम्बन्धी विज्ञ एन्ड्र्यु फान्र्सवर्थले यस घटनालाई आश्चर्यजनक बताउनुभएको छ । उहाँका अनुसार म्यानहट्टनमा यसअघि बार्न उल्लूले गुँड बनाएको अभिलेख भेटिएको छैन ।
माथिल्लो वेस्ट साइडकी बासिन्दा एलिजाबेथ विलियम्सले अक्टोबर ६ मा स्थानीय सञ्चारमाध्यमलाई भवनको पानी ट्याङ्कीमा धेरै उल्लू देखिएको जानकारी दिएपछि यो खबर फैलिएको थियो । उहाँ र उहाँका पतिले त्यसअघि पनि आफ्नो अपार्टमेन्टको झ्यालमा एउटा उल्लू देख्नुभएको थियो ।
“म्यानहट्टनजस्तो ठाउँमा प्रकृतिसँग साक्षात्कार गर्न सामान्यतया खोज्दै हिँड्नुपर्छ । तर यहाँ त हाम्रो झ्यालबाहिरै देखियो”, विलियम्सले भन्नुभयो ।
न्युयोर्कवासीका लागि दुर्लभ चराले आकर्षण पैदा गरेको यो पहिलो घटना होइन । मिडटाउन म्यानहट्टनको ब्रायन्ट पार्कमा हरेक वसन्तमा देखिने अमेरिकी वुडकक पनि चराप्रेमीका प्रिय बनेका छन् । सन् २०२३ मा चिडियाखानाको घेराबाट बाहिर निस्किएपछि चर्चित बनेको ‘फ्लाको’ नामको युरेसियाली ठूलो उल्लूको सन् २०२४ मा मृत्यु हुँदा दर्जनौँ प्रशंसकले शोक व्यक्त गरेका थिए । त्यसैगरी, फिफ्थ एभिन्युमा तीन दशकसम्म गुँड बनाएको ‘पेल मेल’ नामको रातो पुच्छर भएको बाज पनि सन् २०२३ मा मरेको थियो ।
न्युयोर्क सहरको पार्क तथा मनोरञ्जन विभागका अनुसार सहरका पार्कमा बार्न उल्लू निकै कम देखिन्छन् । न्युयोर्क यस प्रजातिको उत्तरी वितरण क्षेत्रको सीमामा पर्छ । राज्यको वातावरण संरक्षण विभागका अनुसार बार्न उल्लूको सङ्ख्या समयसँगै चिन्ताजनक दरमा घटेको छ ।
न्युयोर्क सिटी बर्ड एलायन्सकी कार्यकारी निर्देशक जेसिका विल्सनले उल्लूले चराप्रेमी मात्र नभई सामान्य बासिन्दाको समेत ध्यान खिचेको बताउनुभयो । राति सक्रिय हुने, लुकेर बस्ने र कमै देखिने भएकाले म्यानहट्टनमा तिनलाई हेर्न पाउनु रोमाञ्चक भएको उहाँको भनाइ छ ।
उल्लूको झलक पाउन पछिल्ला दिनमा राति फोटोग्राफर र सर्वसाधारण सडकमा भेला हुन थालेका छन् । न्युयोर्कका सेवानिवृत्त बासिन्दा भ्याल कोलम्यानले यसअघि क्यालिफोर्नियामा एउटा बार्न उल्लू मात्र देखेको बताउनुभयो । उहाँले उल्लू सिकार गर्न निस्कने साँझको प्रतीक्षा गरिरहेको उल्लेख गर्दै विषादी प्रयोग गरेर मारिएका मुसा तिनको आहार नबनून् भन्ने चिन्ता व्यक्त गर्नुभयो ।
‘म्यानहट्टन बर्ड अलर्ट’ नामक सामाजिक सञ्जाल खाता सञ्चालन गर्ने चराप्रेमी डेभिड ब्यारेटले पानी ट्याङ्कीमा कम्तीमा एउटा वयस्क उल्लू र पाँचवटा हुर्कँदै गरेका बच्चा देखेको बताउनुभयो । उहाँले एउटा वयस्क उल्लूले ट्याङ्कीमा मुसा बोकेर ल्याएको पनि देख्नुभएको थियो । त्यहाँ दुईवटा वयस्क उल्लू रहेको अनुमान गरिएको छ भने केही फोटोग्राफरले छवटा बच्चा देखेको बताएका छन् ।
ब्यारेटका अनुसार एउटा बार्न उल्लू देखिनु आफैँमा असामान्य भए पनि म्यानहट्टनमा उल्लूको परिवारले गुँड बनाएर बच्चा हुर्काएको अभिलेखित घटना विशेष महत्त्वको छ ।
उल्लू देखिनुअघि नै विलियम्स र उहाँका पतिले सेप्टेम्बरको सुरुदेखि बाहिरबाट बेलाबेला चर्को आवाज सुनिरहनुभएको थियो । सुरुमा कुनै चराको आवाज हुन सक्ने अनुमान गरे पनि मोबाइल एपले बार्न उल्लूको आवाज भएको सङ्केत गर्दा उहाँहरू विश्वस्त हुनुभएको थिएन ।
थोमस ओबरस्टेनरले पनि सेप्टेम्बरको मध्यदेखि राति अनौठो चिच्याहट र विलापजस्तो आवाज सुन्नुभएको थियो । “बाहिर कसैको हत्या भइरहेको जस्तो सुनिन्थ्यो”, उहाँले भन्नुभयो । दुई–तीन सातासम्म हरेक रात फरक–फरक दिशाबाट आवाज आएको उहाँको भनाइ छ ।
कतिपटक उहाँ र उहाँकी पत्नीले उल्लूको आवाजलाई पीडामा परेको बच्चाको चिच्याहट ठानेर आफ्ना छोराछोरीको कोठामा पुग्नुभएको थियो । समाचारमा उल्लूको चर्चा देखेपछि मात्र ती आवाजको स्रोत पत्ता लागेको उहाँले बताउनुभयो ।
फान्र्सवर्थका अनुसार बार्न उल्लूले एकअर्कासँग सञ्चार गर्न यस्तो चर्को आवाज निकाल्छन् । उहाँले उक्त आवाजलाई डर लाग्दो चलचित्रमा सुनिने आवाजसँग तुलना गर्नुभयो ।
ओबरस्टेनरले आफ्नो घरको छतमा रहेको खुला स्थानलाई उल्लू अवलोकनका लागि अहिले सहरकै उत्कृष्ट ठाउँमध्ये एक मान्नुभएको छ । उल्लूबारे खबर फैलिएपछि उहाँले प्रकृति फोटोग्राफरलाई लगभग हरेक रात त्यहाँबाट अवलोकन गर्न दिनुभएको छ । गत साता एक रात २० जना त्यहाँ भेला भएका थिए ।
“हामी उनीहरूलाई आउन नदिन सक्दैनौँ, किनभने यो निकै रमाइलो छ र उनीहरू यसप्रति गम्भीर छन् । यो सुन्दर अनुभव हो”, उहाँले भन्नुभयो ।
उल्लूको परिवार पानी ट्याङ्कीमा बस्नुअघि विलियम्स र उहाँका पति चराप्रेमी हुनुहुन्नथ्यो । तर, झ्यालबाहिरै दुर्लभ चराको परिवार देखेपछि उहाँहरूको रुचि बदलिएको छ । “मलाई लाग्छ, अब हामी पनि चराप्रेमी बन्नेछौँ”, विलियम्सले भन्नुभयो ।

