Wednesday 14th of October | २०८३ असोज २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ग्रिनल्यान्डमा तेल र खनिज अन्वेषणको तयारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार | (रासस-एएफपी)

वासिङ्टन, २८ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा तेल, ग्यास तथा खनिजको विशाल भण्डार अन्वेषण गर्ने तयारी भइरहेको बताउनुभएको छ । उहाँले ग्रिनल्यान्डलाई अमेरिका र युरोपको सुरक्षाका दृष्टिले अत्यन्त महत्त्वपूर्ण क्षेत्रका रूपमा प्रस्तुत गर्नुभएको छ ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको अन्वेषण सुरु गर्ने तयारी भइरहेको बताउनुभएको हो ।

उहाँले विज्ञहरूलाई उद्धृत गर्दै त्यहाँ सहजै निकाल्न सकिने तेलको मात्रा विश्वका अन्य स्थानको तुलनामा निकै धेरै रहेको दाबी गर्नुभयो । यद्यपि, सम्भावित अमेरिकी संलग्नताबारे उहाँले विस्तृत जानकारी दिनुभएको छैन ।

रुस र अमेरिकाबीच क्षेप्यास्त्र प्रहारका लागि सबैभन्दा छोटो मार्गमा पर्ने ग्रिनल्यान्ड ट्रम्पले प्रस्ताव गर्नुभएको ‘गोल्डेन डोम’ क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका लागि पनि रणनीतिक महत्त्वको क्षेत्र हो ।

त्यहाँ दुर्लभ पृथ्वीका उत्खनन नगरिएका भण्डार छन् । ध्रुवीय बरफ पग्लिँदै जाँदा नयाँ समुद्री ढुवानी मार्ग खुल्ने सम्भावनाले पनि यसको महत्त्व बढाएको छ ।

ग्रिनल्यान्डमाथि बलपूर्वक नियन्त्रण कायम गर्ने धम्की दिनुभएका ट्रम्पले गत सेप्टेम्बरमा ग्रिनल्यान्ड र डेनमार्कका नेताहरूसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौताअनुसार अमेरिकाले ग्रिनल्यान्डको दक्षिणी भागमा नरसारुआक र पूर्वी भागमा मेस्टर्सभिग गरी दुई सैन्य आधार निर्माण गर्नेछ । यसअघि नै टापुको उत्तरी क्षेत्रमा पिटफिक सैन्य आधार सञ्चालनमा छ ।

ट्रम्पले ग्रिनल्यान्डबाट अमेरिकामाथि हुन सक्ने सम्भावित आक्रमण रोक्न सकिने दाबी गर्दै त्यहाँको भौगोलिक अवस्थिति प्रतिरक्षाका लागि विशेष उपयोगी रहेको बताउनुभएको छ ।

उहाँका अनुसार ग्रिनल्यान्डमा अमेरिकी प्रतिरक्षा प्रणालीले ड्रोन, क्षेप्यास्त्र र भविष्यमा विकसित हुन सक्ने अन्य हतियारसमेत नष्ट गर्न सक्नेछ ।

यसैबीच, गत अगस्टमा पूर्वी ग्रिनल्यान्डको दुर्गम क्षेत्रमा अमेरिकी तेल कम्पनीले प्रारम्भिक काम गरिरहेको भन्ने सञ्चारमाध्यमका समाचारले त्यहाँका स्थानीय बासिन्दा र अधिकारीहरूमा चिन्ता उत्पन्न गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan