Wednesday 14th of October | २०८३ असोज २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथाङ्कामा पनि यसै वर्ष पुग्ने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार | (रासस)

काठमाडौँ, २८ असोजः सङ्खुवासभाको उत्तरी तथा दुर्गम क्षेत्र भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार भएको छ । प्रसारण लाइन विस्तार भएसँगै स्थानीय बासिन्दाले भरपर्दो विद्युत् सेवा पाउने सुनिश्चित भएको छ ।

यसअघि लघु जलविद्युत् आयोजनामार्फत विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति सुरु गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय प्रसारण लाइन विस्तारपछि भोटखोला गाउँपालिकाको कार्यालय र हटियास्थित अस्पतालमा थ्रीफेज मिटर जडान गरी विद्युत् आपूर्ति सञ्चालनमा ल्याइएको उल्लेख छ ।

त्यसबाट स्थानीय बासिन्दासँगै सरकारी कार्यालय, स्वास्थ्य संस्था, कुटानी–पिसानी मिल तथा घरेलु उद्योग प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले दुर्गम क्षेत्रको विद्युत् पहुँच विस्तार गर्दै आपूर्तिलाई भरपर्दो बनाउन खटिएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, प्राविधिक तथा जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

राष्ट्रिय प्रसारण प्रणालीको विस्तारले स्थानीयस्तरमा विद्युत्को उपलब्धता र विश्वसनीयता बढाउनका साथै आर्थिक तथा सामाजिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिकाको किमाथाङ्कासम्म पनि राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने प्रक्रिया अघि बढाइएको छ ।

नेपाल विद्युत् प्राधिकरणले उक्त क्षेत्रमा विद्युत् पुर्याउन आवश्यक ठेक्का प्रक्रिया अगाडि बढाइसकेको छ । चालु आर्थिक वर्षभित्रै किमाथाङ्कामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति पुर्याउने लक्ष्य राखिएको छ ।

सङ्खुवासभामा विद्युत् पहुँच विस्तारलाई प्राथमिकतामा राखेर प्राधिकरणले दुर्गम बस्तीहरूमा राष्ट्रिय प्रसारण प्रणाली विस्तार निरन्तर अघि बढाइरहेको छ ।

जिल्लाका करिब ९५ प्रतिशत घरपरिवारले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् उपभोग गरिरहेका छन् । बाँकी घरमा भने लघु जलविद्युत् तथा सौर्य ऊर्जामार्फत विद्युत् सेवा उपलब्ध हुँदै आएको छ ।

हटियामा राष्ट्रिय प्रसारण लाइन पुगेपछि भोटखोलाका दुर्गम बस्तीलाई राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने अभियानले थप गति लिने अपेक्षा गरिएको छ ।

अब किमाथाङ्कासम्म प्रसारण लाइन विस्तार गर्ने लक्ष्य पूरा भएमा चीनसँग सीमा जोडिएको त्यस दुर्गम क्षेत्रको विद्युत् पहुँच विस्तारमा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan