रामगोपालपुरले जित्यो उद्घाटन खेल
सिरहा, २६ असोजः गोलबजार नगरपालिकामा आजदेखि सुरु भएको नगरस्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाराको महागढीमाई नगरपालिकालाई ३४ रनले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको रामगोपालपुरले निर्धारित ओभरमा सात विकेट गुमाउँदै १६५ रन बनाएको थियो । १६६ रनको लक्ष्य पछ्याएको महागढीमाईले १३१ रन मात्र बनाउन सक्यो । हारसँगै महागढीमाई प्रतियोगिताबाट बाहिरिएको छ ।
रामगोपालपुरका सुजित साह ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो। उहाँले बलिङमा तीन विकेट लिनुका साथै ब्याटिङमा १८ रन बनाउनुभएको थियो ।
चोहर्वा क्रिकेट टिमको आयोजना र गोलबजार नगरपालिकाको समन्वयमा सञ्चालन भइरहेको प्रतियोगितामा मधेस प्रदेशका विभिन्न जिल्लाका नगरपालिका तथा गाउँपालिकाका १६ टोली सहभागी छन् । चोहर्वा क्रिकेट टिमका अध्यक्ष सरोजकुमार रायले प्रतियोगितामा १६ टोली सहभागी रहेको जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठ र नेकपाका केन्द्रीय सदस्य रामचन्द्र महतोले संयुक्त रूपमा ब्याटिङ र बलिङबाट गर्नुभएको थियो ।
प्रतियोगिताका विजेतालाई रु एक लाख ११ हजार र उपविजेतालाई नगद रु ६१ हजार प्रदान गरिने छ । खेलमा ‘म्यान अफ द सिरिज’ घोषित खेलाडीले रु पाँच हजार १०० तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही रु दुई हजार १०० नगद पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताअन्तर्गत मङ्गलबार सिरहाको सुखीपुर नगरपालिका र सिरहा नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
