नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा गौतम
वीरगन्ज (पर्सा), २५ असोजः वीरगन्जको नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन हुनुभएको छ । प्रतिष्ठानको आज सम्पन्न वार्षिक साधारणसभाले उपाध्यक्षमा कविता खड्का, सचिवमा सुरेश बिडारी र कोषाध्यक्षमा अजमत अली अन्सारी चयन गरेको छ ।
त्यस्तै, सदस्यमा गीता भण्डारी, सूर्य शुभचिन्तक, रेणु गुप्ता, देवी सापकोटा, नवराज रिजाल, किशुन दयाल श्रीकृष्ण र देवराज खरेल चयन हुनुभएको छ । सो अवसरमा प्रतिष्ठानका संस्थापक एवं वरिष्ठ सल्लाहकार जगदीश शर्माले साहित्यिक गतिविधिलाई निरन्तरता दिँदै संस्थाको प्रतिष्ठा अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले व्यावसायिक सहरका रूपमा परिचित वीरगन्जको साहित्यिक पृष्ठभूमिको संरक्षण र प्रवर्द्धनमा प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष गौतमले अग्रजको सम्मान गर्दै उनीहरूका सल्लाह र सुझावलाई आत्मसात् गरी सहकर्मीसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
